कोष सञ्चालन र व्यवस्थापन सम्बन्धी व्यवस्था
1. कोषको सञ्चालन तथा व्यवस्थापन :
(१) ऐनको दफा ५३ बमोजिमको पत्रकार वृत्ति कोष, महिला पत्रकारका लागि लक्षित कोष र दफा ५४ बमोजिमको जेष्ठ पत्रकार लक्षित कोषमा देहाय बमोजिमको रकम रहनेछ:-
(क) नेपाल सरकारबाट प्राप्त हुने अनुदान,
(ख) प्रदेश सरकारबाट प्राप्त हुने अनुदान ,
(ग) स्थानीय सरकारबाट प्राप्त हुने रकम,
(घ) विभिन्न सामाजिक संघ संस्थाबाट वा व्यक्तिबाट प्राप्त हुने रकम,
(ङ) प्रेस प्रतिनिधि प्रमाणपत्र नवीकरण गर्दा लाग्ने दस्तुरको शतप्रतिशत हुन आउने रकम ।
(२) उपनियम (१) बमोजिमको कोषहरुको सञ्चालन तथा व्यवस्थापन गर्न देहाय बमोजिमको एक कोष सञ्चालक समिति रहनेछ:-
(क) सचिव, मन्त्रालय -> अध्यक्ष
(ख) अधिकृत, नवौँ तह, आर्थिक मामिला तथा योजना मन्त्रालय -> सदस्य
(ग) अधिकृत, नवौँ तह, सामाजिक विकास मन्त्रालय (ज्येष्ठ नागरिक तथा महिला महाशाखा हेर्ने) -> सदस्य
(घ) अधिकृत, नवौँ तह, मन्त्रालय ( सूचना समन्वय तथा प्रसारण महाशाखा हेर्ने) -> सदस्य
(ङ) अध्यक्ष, नेपाल पत्रकार महासंघ प्रदेश समिति -> सदस्य
(च) मन्त्रालयले मनोनयन गरेको एक जना महिला सहित दुई जना पत्रकार -> सदस्य
(छ) सञ्चार रजिष्ट्रार -> सदस्य सचिव
(3) उपनियम (2) बमोजिमको समतिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-
(क) ज्येष्ठ, घाइते र दीर्घ रोगी पत्रकारहरुको आवश्यक सामाजिक सुरक्षा व्यवस्थापन गर्नका लागि, योजना, मापदण्ड तथा कार्यविधि तथा कार्यक्रम तयार गरी प्रदेश सरकार समक्ष पेश गर्ने,
(ख) पत्रकारहरुको लगत तथा अभिलेख अद्यावधिक राख्ने,
(ग) ज्येष्ठ पत्रकारहरुलाई मासिक वृत्ति प्रदान गर्न तथा निजहरुको ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्न सहयोग पुर्‍याउने नीति योजना र कार्यक्रम बनाई प्रदेश सरकारसमक्ष पेश गर्ने,
(घ) पत्रकारहरुलाई सहयोग उपलब्ध गराउने सम्बन्धमा आवश्यकता अनुरुप विभिन्न क्षेत्रसँग समन्वय गर्ने,
(ङ) प्रदेश सरकारले निर्धारण गरे बमोजिम नेपाल सरकार तथा स्थानीय तहबाट प्रदान भएको सेवा सुविधामा दोहोरो नपर्ने गरी ज्येष्ठ पत्रकारहरुलाई मासिक वृत्ति एवं अन्य पत्रकारलाई दिने सुविधा उपलब्ध गराउने ।
(4) उपनियम (२) बमोजिम गठन भएको कोष सञ्चालक समितिले आफ्नो बैठक लयायत कोष सञ्चालन प्रयोजनको लागि आवश्यक कार्यविधि आफैँ निर्धारण गर्न सक्नेछ।



सञ्चार रजिष्ट्रारको कार्य सम्बन्धी व्यवस्था :
ऐनको दफा ३६ मा उल्लिखित काम कर्तव्य र अधिकारको अतिरिक्त सञ्चार रजिष्ट्रारको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ:-
(क) प्रदेश सरकार, सञ्चार संस्था र पत्रकारहरुका बीचमा सहजीकरण गर्ने,
(ख) संघ, अन्य प्रदेश र स्थानीय तहसँग समन्वय गरी आवश्यक कार्य गर्ने,
(ग) सूचना बैंक सञ्चालन गर्ने र सो बैंकबाट आवश्यक सूचना उपलब्ध गराउने,
(घ) प्रदेशभित्र प्रकाशित तथा प्रसारित हुने सञ्चार माध्यमको नाम, किसिम, प्रकाशन तथा प्रसारण अवधि, भाषा आदि विषयमा वार्षिक प्रतिवेदन तयार गरी प्रकाशन गर्ने,
(ङ) ऐनको दफा ५७ को उपदफा (१) बमोजिम श्रमजिवी पत्रकारहरुलाई पारिश्रमिक तथा सेवा सुविधा उपलव्ध भए नभएको अनुगमन तथा मूल्याङ्कन गर्ने र श्रमजिवी पत्रकार ऐन र नियमावली कार्यान्वयन गराउन सहजीकरण गर्ने,
(च) कसैले सञ्चार माध्यममा विज्ञापन दिने प्रयोजनको लागि कुनै सञ्चार माध्यमको सम्बन्धमा विवरण माग गरेमा विवरणहरु उपलब्ध गराउने,
(छ) पत्रकारलाई सक्षमताका आधारमा स्रोत व्यक्तिको रुपमा उपयोग गर्न सहयोग पुर्‍याउने,
(ज) ऐनको दफा ५१ बमोजिम राखिने पुस्तकको अभिलेखलाई पुस्तकालयका रुपमा सञ्चालन गर्ने,
(झ) सूचना प्रविधि, सञ्चार, प्रकाशन तथा प्रसारणको क्षेत्रमा प्राप्त हुने स्वदेशी तथा विदेशी विभिन्न छात्रवृत्ति, सीप विकास तालिम, भ्रमण आदि कार्यक्रमको नेतृत्व तथा समन्वय गर्ने,
(२) ऐनको दफा ३६ को खण्ड (ग) बमोजिम सञ्चार रजिष्ट्रारले सामुदायिक सञ्चार माध्यमको अभिलेख राख्दा सामुदायिक सञ्चार माध्यमले देहायको विषयहरुलाई प्राथमिकतामा राखेको हुनुपर्नेछ:-
(क) शिक्षा, जनस्वास्थ्य,स्थानीय उत्पादन, वातावरण, विपद व्यवस्थापन, बजार विकास, कृषि, सहकारी, उद्ममशीलता प्रवर्द्धन, पर्यटन र ज्ञान तथा सीप प्रवर्द्धन गर्ने र सामाजिक कुरीति विरुद्ध सचेतना जगाउने,
(ख) भाषा, संस्कृति, कला र परम्पराको संरक्षणमा योगदान दिने,
(ग) समुदायको विविधता प्रवर्द्धन गर्ने,
(घ) समुदायका काम कारबाहीको प्रचार प्रसार र सार्वजनिक अनुगमनका लागि सहयोग गर्ने।