प्रदेश ३ लाई पुस्तक बुझाउनु पर्ने

काठमाडौं : प्रदेश नम्बर ३ सरकारले प्रकाशकले किताब प्रकाशन गरेलगत्तै बुझाउनुपर्ने नियम लागू गरेको छ। प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन जारी गर्दै यस्तो व्यवस्था लागू गरेको हो।
ऐनका परिच्छेद ८ को दफा ५१ मा किताबको अभिलेखीकरण गराउनुपर्ने प्रावधान राखेको प्रेस रजिस्ट्रार रेवती सापकोटाले जानकारी दिए। उनले भने, ‘कुनै पनि किताबको प्रकाशकले प्रकाशित किताब बिक्री गर्नुअघि त्यस्तो किताबको दुई प्रति बिनामूल्य प्रेस रजिस्ट्रारको कार्यालय काठमाडौं वा हेटौंडामा बुझाउनुपर्नेछ।’ प्रेस रजिस्ट्रारको कार्यालयले अबदेखि प्रदेश ३ भित्रका प्रकाशकका हरेक किताबको अभिलेखीकरण गर्नेछ।

सञ्चार रजिस्ट्रार उपदफा १ बमोजिम अभिलेखीकरण गर्दा तोकिएबमोजिमका विवरण तोकिएको ढाँचामा भर्नुपर्ने प्रावधान राखिएको छ। अबदेखि किताब प्रकाशन गर्नुअघि प्रत्येक किताबमा प्रकाशक, लेखक वा सम्पादक वा अनुवादक, मुद्रक र छापाखाना अनिवार्य उल्लेख गर्नुपर्नेछ। यसैगरी प्रतिलिपि अधिकार पाउने व्यक्तिसमेत सबैको नाम, संस्करणको संख्या, वर्ष र सो संस्करणमा छापिएको प्रति तथा बिक्री मूल्य आदि स्पष्ट बुझिने गरी उल्लेख गर्नुपर्ने भएको हो।

‘यसअघि प्रकाशित पुस्तकसमेत दुई प्रतिका दरले उपलब्ध गराए त्यसको पनि व्यवस्थित अभिलेख राख्नेछौं तर यो ऐच्छिक हो’, रजिस्ट्रार सापकोटाले भने, ‘२०७६ सालदेखिका सबै पुस्तकको पुस्तकालय मात्र बनाउने छैनौं, सबै किताबको डिजिटलाइज्डसमेत गर्ने योजना छ।’ source : http://annapurnapost.com/news/144416

स्रोत :अन्नपूर्णपोष्ट दैनिकमा २०७६ पुस १६ गते प्रकाशित